बीपी राजमार्ग खुलाउन अवरोध हटाउने काम जारी, असोज १३ देखि सञ्चालनमा ल्याउने तयारी
काभ्रे । पहिरो र बाढीको कटानका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउन अवरोध हटाउने काम जारी छ ।
पछिल्लो वर्षाका कारण नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयवेशी, वडा नम्बर ८ गिम्दीवेशी र वडा नम्बर ११ माम्तीमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । चौकीडाँडा क्षेत्रमा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको छ ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने तथा अवरोध हटाउने काम भइरहेको छ ।
उनका अनुसार असोज १३ गते अपराह्नसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । केही स्थानमा पहिरो पन्छाइसकिए पनि चौकीडाँडा क्षेत्रमा भने सडक खुलाउन थप समय लाग्ने देखिएको छ ।
सडक डिभिजन कार्यालयका प्राविधिकका अनुसार जापानी ठेक्काअन्तर्गत काभ्रेतर्फको अन्तिम खण्डमा बाढीले सडकमा ठूलो क्षति पुर्याएकाले त्यहाँको काम मंगलबारसम्म लाग्न सक्नेछ ।
यसैबीच प्रमुख जिल्ला अधिकारी अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधिले अवरुद्ध बीपी राजमार्गको स्थलगत निरीक्षण गरी सडक खुलाउने कामको अवस्थाबारे जानकारी लिएका छन् ।