मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध, मर्मतमा जुट्यो प्राविधिक टोली
मुस्ताङ । निरन्तरको वर्षासँगै आएको बाढीपहिरो र नदी कटानका कारण मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार रातिदेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
वर्षाका कारण पर्वतको डिमुवाबाट आउने ३३ केभी विद्युत् प्रसारण लाइनका खम्बामा क्षति पुगेपछि मुस्ताङको विद्युत् आपूर्ति बन्द भएको निलगिरि उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीले जानकारी दिए । बाढीपहिरोका कारण पर्वत र म्याग्दी खण्डका विद्युत् संरचनामा क्षति पुगेपछि म्याग्दीको दाना सबस्टेसनसमेत चार्ज हुन नसकेको उनले बताए ।
बाढीपहिरोका कारण विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्र तथा मुस्ताङको अवस्थाबारे जानकारी लिनसमेत समस्या भएको थकालीले बताए । बेनीसम्मको विद्युत् प्रसारण लाइन भने मर्मत गरी सञ्चालनमा ल्याइएको छ । ३३ केभी प्रसारण लाइन र दाना सबस्टेसनको अवस्थाबारे अध्ययन गर्न जोमसोमबाट प्राविधिक टोली परिचालन गरिएको छ ।
यसैगरी, थासाङ गाउँपालिका–३ का केही स्थानमा रुख ढलेर विद्युत्का खम्बामा क्षति पुगेपछि मर्मतका लागि प्राविधिक टोली खटिएको छ । मौसम खुलेसँगै अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि काम भइरहेको र साँझसम्म सेवा नियमित गर्ने प्रयास भइरहेको थकालीले बताए ।
यता, बाढीपहिरो र नदी कटानका कारण पर्वत तथा म्याग्दीका विभिन्न स्थानमा फाइबर संरचनामा क्षति पुगेपछि मुस्ताङमा पछिल्लो ३६ घण्टादेखि इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ ।
नेपाल टेलिकम जोमसोमका कार्यालय प्रमुख हुम भुजेलका अनुसार म्याग्दीको बेनीसम्म फाइबर सेवा सहज भइसके पनि उत्तरी म्याग्दी र मुस्ताङमा सेवा सञ्चालन हुन सकेको छैन । बैसरी, थासाङको लेतेलगायत स्थानमा फाइबर प्रसारण लाइन मर्मत भइरहेको उनले बताए ।
अप्टिकल फाइबर सेवा अवरुद्ध भए पनि मुस्ताङका केही स्थानमा नेपाल टेलिकमको रेडियो लिंकमार्फत टेलिफोन तथा फोरजी सेवा सञ्चालनमा रहेको भुजेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि कोरला नाकासम्म सोलार प्रविधिबाट रेडियो लिंक सञ्चालन भएकाले त्यहाँ टेलिफोन तथा फोरजी सेवा चलिरहेको उनले बताए ।
अवरुद्ध फाइबर इन्टरनेट सेवा यथाशीघ्र सञ्चालन गर्न प्राविधिक टोली परिचालन गरिएको र आज साँझसम्म सेवा नियमित गर्ने प्रयास भइरहेको टेलिकमले जनाएको छ ।