इसेवाको सीईओमा निरज शर्मा नियुक्त
इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। गत भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। शर्माले आजदेखि आगामी चार वर्षका लागि जिम्मेवारी सम्हालेका छन्।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन्।
बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्माको नेतृत्वले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई थप सुदृढ बनाउन शर्माको नेतृत्व महत्त्वपूर्ण हुने विश्वास इसेवा सञ्चालक समितिले लिएको छ।
यसअघि इसेवाको सीईओ रहेका जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा भएको छ। खड्का २०७९ असोज १२ गते इसेवाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। उनले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेसँगै शर्माले नयाँ सीईओका रूपमा जिम्मेवारी सम्हालेका हुन्।