गुल्मीमा खोलाले बगाएर एक महिला बेपत्ता
गुल्मीमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। रेसुङ्गा नगरपालिका–१४ पराल्मीकी तुलसी सूर्यवंशीलाई आइतबार बिहान करिब ११ बजे छल्दीपनाहा खोलाले बगाएको हो।
खोलाले बगाएको २४ घण्टा बितिसक्दा पनि सूर्यवंशीको अवस्था अज्ञात रहेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भिमकिरण बोगटीका अनुसार आइतबार दिनभर खोजी गर्दा पनि उनलाई फेला पार्न सकिएको छैन।
सोमबार पनि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले खोजीलाई निरन्तरता दिएको एसपी बोगटीले जानकारी दिए।
उनका अनुसार बागलुङतर्फबाट आउने खोला पनि छल्दीपनाहामा मिसिने भएकाले उक्त क्षेत्रमा पानीको बहाव ठूलो छ। पानीको बहाव तीव्र भएकाले बेपत्ता महिलाको खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। प्रहरी तथा स्थानीयवासीले सम्भावित क्षेत्रमा खोजी जारी राखेका छन्।