एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी बढाउन आग्रह
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) की अध्यक्ष जोउ जियायीसँग भेटवार्ता गरेका छन् ।
दोहामा भएको भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच बढाउन आग्रह गरेका छन् ।
भेटमा अध्यक्ष जियायीले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति समवेदना व्यक्त गर्दै पुनर्निर्माणमा बैंकका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने र नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सकिने बताइन् ।
अर्थमन्त्री वाग्लेले हरित ऊर्जा, विद्युत् प्रसारण, सडक तथा डिजिटल पूर्वाधारमा लगानी विस्तार गर्न आग्रह गर्दै अध्यक्ष जियायीलाई सन् २०२६ भित्र नेपाल भ्रमणको निम्तो दिएका छन् ।