प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउन सांसद दुलालको रुलिङ माग
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन सभामुखबाट रुलिङको माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दुलालले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रममा अनिवार्य रूपमा सहभागी गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरे।
उनले प्रधानमन्त्रीले नेपालले पनि भारतका धेरै स्थानमा जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए। उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन, प्रधानमन्त्रीबाट स्पष्टीकरण गराउन वा सभामुखबाट रुलिङ गर्न उनले माग गरे।
सांसद दुलालले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता तथा प्रधानमन्त्रीले संसद्को नियम र मर्यादा पालना गर्ने विषयमा उदाहरणीय भूमिका निर्वाह गर्नुपर्ने पनि बताए।