रोल्पामा पहिरोले घर–गोठ पुरिँदा दुई जनाको मृत्यु, १० जना बेपत्ता
रोल्पा । अविरल वर्षाका कारण गएको पहिरोमा परी रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा दुई जनाको मृत्यु भएको छ। पहिरोले घर तथा गोठ पुरिँदा १० जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ बोटलबाराकी १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर रहेका छन्।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूको अवस्था र उपचारसम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक विवरणमा पहिरोले बोटलबाराका छ वटा घर तथा गोठमा क्षति पुर्याएको छ। ती घरमा रहेका १० जना पहिरोमा परी बेपत्ता भएको अनुमान गरिएको छ।
बुधबारदेखि लगातार परेको वर्षाका कारण पहिरो गएको हो। वर्षाका कारण जमिन कमजोर बनेपछि घर तथा गोठमाथि पहिरो खसेको प्रहरीले जनाएको छ। घटना भएपछि प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो।
हाल बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ। लगातार वर्षा भइरहेकाले उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ। घटनाको थप विवरण तथा क्षतिको पूर्ण विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।