सुरक्षासम्बन्धी उजुरी सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय
संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सुरक्षासम्बन्धी विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भएकाले सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा उजुरी पठाउने निर्णय गरेको सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए।
सूचना मागसम्बन्धी विषयमा समितिले यसअघि नै लिखित रूपमा जानकारी उपलब्ध गराइसकेको र थप विवरण आवश्यक परे नियमानुसार उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको उनले बताए।
समितिका छलफल अडियो रेकर्डका रूपमा सुरक्षित रहने र सार्वजनिकसमेत भइसकेकाले छुट्टै व्यक्तिगत नोट वा सिफारिस दिने विगतको अभ्यास नरहेको सभापति श्रेष्ठले स्पष्ट पारे।
यसैगरी, समितिले सदस्यहरूका लागि आगामी भदौ १८ र १९ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।