जाजरकोटमा पहिरो : १० घाइते, तीन जना सम्पर्कविहीन
जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा भेरी नगरपालिकामा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।
भेरी–२ रिसाङलगायत क्षेत्रमा गएको पहिरोमा घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ। अन्य घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
सम्पर्कविहीन तीन जनाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० सदस्यीय संयुक्त टोली परिचालन गरिएको छ। पहिरोले एक कच्ची घर पूर्ण रूपमा क्षति गर्नुका साथै दुई अस्थायी टहरा भत्काएको छ। उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।