ज्यान जोखिममा रहेका दुई जनाको हवाई उद्धार, विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याएको छ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ की ३८ वर्षीया शारदा बस्नेत जटिल प्रसूति समस्याका कारण तीन दिनदेखि प्रसूति हुन नसकी गम्भीर अवस्थामा पुगेपछि चिकित्सकीय सिफारिसमा हवाई उद्धार गरिएको हो। उनलाई काठमाडौंको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा ल्याई उपचार भइरहेको छ।
त्यस्तै, आत्महत्याको प्रयासपछि गम्भीर अवस्थामा रहेका एक युवालाई थप उपचार तथा सघन उपचार आवश्यक भएपछि सल्ले अस्पतालबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
दुर्गम तथा विकट क्षेत्रमा रहेका गर्भवती, सुत्केरी र गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। मन्त्रालयका अनुसार आकस्मिक अवस्थामा नागरिकको जीवनरक्षा र सुरक्षित स्थानान्तरणका लागि यो सेवा महत्वपूर्ण बन्दै गएको छ।