विद्युत् वितरण प्रणाली आधुनिकीकरणलाई प्राथमिकता दिइने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्षदेखि विद्युत् वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिइने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल विद्युत् प्राधिकरणको वार्षिकोत्सव समारोहमा मन्त्री श्रेष्ठले भरपर्दो, गुणस्तरीय र अविच्छिन्न विद्युत् सेवा प्रवाहका लागि वितरण प्रणालीको आधुनिकीकरण, स्मार्ट प्रणालीको विकास, विद्युत् चुहावट नियन्त्रण तथा डिजिटल प्रविधिको विस्तारलाई प्राथमिकता दिइने बताएका हुन्।
उनले ऊर्जा क्षेत्रको पूर्वाधार निर्माणमा ठूलो पुँजी आवश्यक पर्ने भएकाले निजी क्षेत्र, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न नीतिगत स्थिरता कायम गरिने बताए।
जलविद्युत् क्षेत्रमा लामो समयदेखि देखिँदै आएको लाइसेन्स होल्ड गर्ने प्रवृत्ति अन्त्य गरी निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी प्रणाली स्थापना गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले विद्युत् अर्थतन्त्रको मेरुदण्ड मात्र नभई सामाजिक न्याय र मानवीयताको आधारसमेत भएकाले उपभोक्तालाई सुलभ दरमा विद्युत् उपलब्ध गराउनुपर्ने बताए। यसतर्फ मन्त्रालय सचेत रहेको उनले उल्लेख गरे।
प्राधिकरणको सफलता विद्युत् उत्पादनको मेगावाट, प्रसारण लाइनको विस्तार वा आम्दानीमा मात्र निर्भर नहुने भन्दै उनले कर्मचारीको इमानदारी, व्यावसायिकता र सेवाभाव पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। उनले संस्थागत सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
मन्त्री श्रेष्ठले प्राधिकरणको पुनर्संरचना कसैको अस्तित्व कमजोर पार्न नभई समग्र ऊर्जा क्षेत्रलाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन गरिएको स्पष्ट पारे।
यसैबीच, आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणले विद्युत् बिक्री तथा अन्य आम्दानीबाट कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको जनाएको छ। कार्यसम्पादन सुधार, विद्युत् चुहावट नियन्त्रण तथा विद्युत् निर्यातमा भएको वृद्धिका कारण प्राधिकरणको समग्र कुल नाफा १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ।