पर्सामा साढे ५२ लाख नगदसहित चार जना पक्राउ
पर्साको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।
सोमबार राति विशेष सूचनाका आधारमा खटिएको प्रहरीले दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार सितामढीका २६ वर्षीय सुरज कर्ण, पर्साका २५ वर्षीय राहुल गुप्ता, बाराका ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागर कुमार सर्राफ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूबाट बरामद रकमको स्रोत खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।