शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन बङ्गलादेशको भारतसँग आग्रह
ढाका — बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया छिटो अघि बढाउन भारतसँग आग्रह गरेको छ। प्रधानमन्त्री तारिक रहमान र भारतका नवनियुक्त उच्चायुक्त दिनेश त्रिवेदीबीच सोमबार भएको भेटमा हसिनाको प्रत्यर्पणसहित दुई देशबीचका महत्वपूर्ण विषयमा छलफल भएको हो।
बङ्गलादेशको प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री रहमानले भारतले हसिनाको प्रत्यर्पण प्रक्रिया शीघ्र अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि पदबाट हटेकी हसिना त्यसयता भारतमा रहँदै आएकी छन्।
भेटमा बङ्गलादेशले जुलाई आन्दोलनका प्रमुख व्यक्तिमध्ये एक शाहिद उस्मान हादीको हत्या आरोपमा रहेका व्यक्तिलाई पनि भारतबाट फिर्ता गर्न आग्रह दोहोर्याएको छ।
प्रधानमन्त्री रहमानले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। भेटमा बङ्गलादेशका विदेशमन्त्री खलिलुर रहमान, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायूँ कबीरलगायत अधिकारी सहभागी थिए।
पछिल्लो समय हसिनाले भारतबाट दिएका सार्वजनिक अभिव्यक्तिलाई लिएर ढाका र नयाँदिल्लीबीच कूटनीतिक तनाव देखिँदै आएको छ। हसिनाको प्रत्यर्पण, हत्या आरोपमा रहेका व्यक्तिको फिर्ती र द्विपक्षीय सम्बन्ध सुधार अहिले बङ्गलादेश–भारत सम्बन्धका प्रमुख मुद्दा बनेका छन्।
यसअघि हसिनाले भारतबाट भर्चुअल सम्बोधन गर्दै आगामी डिसेम्बरमा स्वदेश फर्किने दृढता व्यक्त गरेकी थिइन्। उनको अभिव्यक्तिप्रति बङ्गलादेशले आपत्ति जनाए पनि भारतले उक्त कार्यक्रम निजी सञ्चार संस्थाले आयोजना गरेको र त्यसमा आफ्नो सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेको थियो।