साउदी–टर्की–पाकिस्तान रक्षा सम्झौता अमेरिकामाथिको निर्भरता घटाउने संकेत : इरान
तेहरान — इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच भएको नयाँ रक्षा सम्झौताले मध्यपूर्व तथा आसपासका मुलुकको अमेरिकाप्रतिको निर्भरता घट्दै गएको संकेत गरेको दाबी गरेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार पत्रकार सम्मेलनमा उक्त सम्झौता क्षेत्रीय सुरक्षा संरचनामा भइरहेको परिवर्तनको संकेत भएको बताए। उनका अनुसार क्षेत्रीय मुलुकहरू आफ्नो सुरक्षा सुनिश्चित गर्न बाह्य शक्तिको सुरक्षा प्रत्याभूतिभन्दा आफ्नै क्षमता र आपसी सहकार्यमा जोड दिन थालेका छन्।
बाकाईले साउदी अरेबिया, टर्की र पाकिस्तानसँग इरानको धार्मिक, ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध रहेको उल्लेख गर्दै नयाँ रक्षा सम्झौता इरानविरुद्ध लक्षित हुनेमा आफूहरू चिन्तित नरहेको स्पष्ट पारे।
साउदी अरेबिया, टर्की र पाकिस्तानले गत शुक्रबार रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार तीनमध्ये कुनै एक मुलुकमाथि भएको आक्रमणलाई सबैमाथिको आक्रमणका रूपमा लिइने पाकिस्तानले जनाएको छ।
अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण क्षेत्रीय अस्थिरता बढिरहेका बेला भएको उक्त सम्झौताले मध्यपूर्वको सुरक्षा समीकरणमा सम्भावित परिवर्तनबारे बहस बढाएको छ।
विश्लेषकहरूले सम्झौतालाई अमेरिकी सुरक्षा प्रतिबद्धताको विकल्प खोज्ने क्षेत्रीय प्रयासका रूपमा व्याख्या गरेका छन्। इरानले भने यसलाई आफूविरुद्ध लक्षित सुरक्षा गठबन्धनका रूपमा नहेरी क्षेत्रीय मुलुकहरूले आफ्नो सुरक्षा नीति आफैँ तय गर्न थालेको संकेतका रूपमा लिएको छ।