फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु, छ बेपत्ता
फिलिपिन्स — उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो। पहिरोमा तीन घर पुरिँदा १३ जना भग्नावशेषमा परेका थिए।
उद्धारकर्मीले सोमबार बिहानसम्म सात जनालाई जीवितै उद्धार गरेका छन्। मृतकमध्ये १७ वर्षीया किशोरी, नौ वर्षका दुई बालबालिका र ५६ वर्षीय पुरुष छन्। उद्धार गरिएकामध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।
लगातार वर्षा भइरहे पनि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ। पहिरोको जोखिममा रहेका १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने थप सात जनालाई स्थानीय सभाहलमा राखिएको छ।
प्रशासनले उद्धार तथा राहत कार्य तीव्र पार्दै जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।