प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षीको माग
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले सोमबार प्रतिनिधिसभामा विरोध जनाएका छन्।
बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद रेनुका काउचालाई बोल्न समय दिएका थिए। काउचाले प्रधानमन्त्रीबाट आफूहरूले उठाएका विषयमा स्पष्ट जवाफ नआएको भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफ दिन सभामुखसँग माग गरिन्।
उनले प्रतिपक्षले प्रश्न गर्नु र सरकारलाई सचेत गराउनु घेराबन्दी नभएको बताउँदै संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय मर्यादा कमजोर बनाउने काममा प्रतिपक्ष मौन नबस्ने धारणा राखिन्।
एमाले सांसद नीता घतानीले पनि सत्ता पक्षका सांसदलाई गलत अभिव्यक्तिको बचाउ गर्नुभन्दा नेपालको भूगोल र सार्वभौमसत्ताको पक्षमा उभिन आग्रह गरिन्। सत्ता, सरकार र पद अस्थायी भए पनि नेपाल स्थायी रहने उनको भनाइ थियो।
विपक्षी दलका अन्य सांसदहरूले समेत प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने र सदनको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्।