परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माण आगामी आर्थिक वर्षदेखि सुरु हुने
काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माण आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन्।
प्रतिनिधिसभामा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खनालले हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए। भवनको आर्किटेक्चरल ड्रइङ, डिजाइन तथा इन्जिनियरिङसम्बन्धी कामका लागि परामर्शदाता छनोट भइसकेको र प्रारम्भिक डिजाइनसमेत तयार भएको उनले बताए।
आर्थिक वर्ष २०८३/८४ का लागि भवन निर्माण गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षमा बोलपत्र आह्वान गरी निर्माण कार्य सुरु गरिने मन्त्री खनालले जानकारी दिए।
मन्त्री खनालले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित ऐतिहासिक तथा कूटनीतिक दस्तावेजको संरक्षणका लागि छुट्टै अभिलेख व्यवस्थापन शाखा गठन गरी काम अघि बढाइएको पनि बताए। पुराना सन्धि–सम्झौताको खोज, प्रमाणीकरण, डिजिटलीकरण र सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ छ।
सरकारसँग हाल विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थासँग भएका ६५५ सन्धि–सम्झौता रहेको जानकारी दिँदै उनले तीमध्ये ५५ वटा सम्पन्न वा परिमार्जन भइसकेको बताए। बाँकी ६०० सन्धि–सम्झौतालाई आवश्यकता र औचित्यका आधारमा क्रमशः पुनरावलोकन, परिमार्जन तथा नवीकरण गरिने उनले बताए।
मन्त्री खनालका अनुसार सन्धि–सम्झौता पुनरावलोकन गर्दा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखिनेछ भने सम्बन्धित मुलुक तथा अन्तर्राष्ट्रिय संस्थासँग सहमति र कूटनीतिक माध्यमबाट प्रक्रिया अघि बढाइनेछ।