फिफा अध्यक्ष इन्फान्टिनोमाथि गम्भीर आरोप, तीन महादेशीय महासंघले मागे स्वतन्त्र छानबिन
काठमाडौं — विश्व फुटबलको सर्वोच्च निकाय फिफा आन्तरिक विवादमा फसेको छ। युरोपेली फुटबल महासंघ (युएएफए), एसियाली फुटबल महासंघ (एएफसी) र उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कोन्काकाफ)ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि गम्भीर आरोप लगाउँदै स्वतन्त्र छानबिनको माग गरेका छन्।
तीनै महासंघका अध्यक्ष तथा महासचिवले संयुक्त रूपमा खुला पत्र जारी गर्दै पछिल्लो घटनाको छानबिन फिफा प्रशासनभित्रबाट नभई पूर्ण रूपमा स्वतन्त्र तेस्रो पक्षबाट गर्नुपर्ने माग गरेका हुन्।
विवाद विश्वकप फुटबलसँग सम्बन्धित केही अधिकार वा सेयर बिक्री गर्ने गोप्य योजनालाई लिएर चर्किएको हो। महासंघहरूले यसलाई सामान्य प्रक्रियागत त्रुटि नभई फिफा नेतृत्वको निर्णय क्षमतामाथि गम्भीर प्रश्न उठाउने विषय भएको बताएका छन्।
उनीहरूका अनुसार विश्वकपजस्तो महत्वपूर्ण प्रतियोगितासँग सम्बन्धित प्रस्ताव सदस्य संघहरूले पर्याप्त अध्ययन गर्न नपाउँदै छोटो समयमै अघि बढाइएको थियो। फिफाले घटनालाई सञ्चारमा भएको कमजोरीका रूपमा व्याख्या गरे पनि तीन महासंघले त्यसलाई जानाजानी गरिएको छलका रूपमा व्याख्या गरेका छन्।
पत्रमा मोरक्कोमा भएको महत्वपूर्ण नेतृत्व बैठकमा फिफा काउन्सिलका सदस्य तथा निर्वाचित पदाधिकारीलाई सहभागी नगराई फिफाद्वारा नियुक्त कर्मचारीलाई मात्र समावेश गरिएको आरोपसमेत लगाइएको छ।
विवादपछि फिफाले आन्तरिक प्रतिवेदन तयार गर्ने जनाएको छ। तर युएएफए, एएफसी र कोन्काकाफले फिफा प्रशासन वा कर्मचारीबाट हुने छानबिन स्वीकार नगर्ने स्पष्ट पार्दै निष्पक्षताका लागि स्वतन्त्र तेस्रो पक्षबाट पूर्ण छानबिन हुनुपर्ने माग गरेका छन्।