जनकपुरधाम उपमहानगरपालिकाले लक्ष्यभन्दा ३ करोड बढी राजस्व उठायो
जनकपुरधाम — जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा १७ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २० करोड ३७ लाख १ हजार ५५९ रुपैयाँ उठाएको हो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३ करोड ७२ लाख २१ हजार ६२६ रुपैयाँ बढी हो।
बक्यौता असुलीमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको उपमहानगरपालिकाले जनाएको छ। गत आर्थिक वर्षमा सम्पत्ति करबाट ५ करोड ६१ लाख, बहाल करबाट ५ करोड ७५ लाख, नक्सापास दस्तुरबाट ३ करोड ३७ लाख तथा सिफारिस दस्तुरबाट १ करोड ३४ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।
यस्तै, बहाल बिटौरी कर, व्यवसाय कर, सेवा शुल्क, प्रशासनिक शुल्क, परीक्षा शुल्क, व्यक्तिगत घटना दर्ता दस्तुर तथा जरिवानालगायत शीर्षकबाट पनि राजस्व संकलन भएको राजस्व शाखा प्रमुख परमेश्वर झाले जानकारी दिए।