धवल शम्शेर राणा र दुर्गा प्रसाईंको राजनीतिक सहयात्रा टुट्यो
काठमाडौं । नयाँ राजनीतिक शक्ति निर्माणका लागि दुई महिनाअघि सहकार्य गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवल शम्शेर राणा र राष्ट्रिय अभियानका संयोजक दुर्गा प्रसाईंबीचको राजनीतिक सहयात्रा टुटेको छ।
सहयात्रा टुटेसँगै राणाले शुक्रबार निर्वाचन आयोग पुगेर ‘जय नेपाल पार्टी’ दर्ताका लागि निवेदन दिएका छन्। यसअघि राणा र प्रसाईंले राजसंस्था पुनर्स्थापना तथा हिन्दु राष्ट्र निर्माणको एजेन्डासहित नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका थिए।
सहमतिअनुसार राणा अध्यक्ष र प्रसाईं ‘सर्वोच्च नेता’ रहने तथा १०१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी थियो। समितिमा राणा पक्षबाट ४०, प्रसाईं पक्षबाट ४० र तटस्थ २० जना रहने सहमति भएको थियो। उनीहरूले चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ समेत तय गरेका थिए।
तर, पार्टी दर्ताको अन्तिम तयारी भइरहेका बेला पार्टीको वरीयता र नेतृत्वलाई लिएर विवाद भएपछि सहकार्य टुटेको हो। प्रसाईंले पार्टीमा आफू पहिलो वरीयतामा रहनुपर्ने अडान राखे पनि राणाले त्यसलाई अस्वीकार गरेको बताइएको छ।
विवादपछि प्रसाईंले राणाप्रति असन्तुष्टि व्यक्त गर्दै ‘राणाहरू राजा ल्याउन चाहँदैनन्’ भन्दै आलोचना गरेका छन्। पार्टी दर्ताको समयलाई लिएर समेत दुई पक्षबीच मतभेद भएपछि उनीहरूको राजनीतिक सहयात्रा औपचारिक रूपमा अलग भएको हो।