सुर्खेतमा २७ दिनमै ४४ हजार ५०० एलपी ग्यास सिलिन्डर बिक्री
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा साउन १ देखि २७ गतेसम्म ४४ हजार ५०० थान एलपी ग्यास सिलिन्डर बिक्री तथा वितरण भएको छ।
नेपाल आयल निगमका अनुसार भेरी ग्यासका मात्रै २७ हजार ६२६ सिलिन्डर वितरण भएका छन्। त्यस्तै नेपाल ग्यास कर्णालीका ५ हजार ७८, सैपालका ४ हजार ४६५, राप्तीका २ हजार ८००, रेडियन्सका २ हजार ७३० र मनकामना ग्यासका १ हजार ८०२ सिलिन्डर बिक्री भएका छन्।
निगमका प्रादेशिक प्रमुख दीपक घिमिरेका अनुसार साउन मसान्तसम्म थप ५ हजार सिलिन्डर आवश्यक पर्ने देखिएको छ। उनका अनुसार यो महिनामा करिब ५० हजार सिलिन्डर खपत हुने र यो अहिलेसम्मकै उच्च खपत हो।
यसैबीच, सर्वपक्षीय बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी तथा दीर्घरोगीलगायत समस्यामा परेकाका लागि प्रत्येक डिलरबाट १० प्रतिशत सिलिन्डर छुट्याएर उपलब्ध गराउने व्यवस्था गरेको छ।