काठमाडौँ उपत्यकामा सार्वजनिक बसको लोकेसन र आगमन समय बताउने एप सार्वजनिक
काठमाडौँ — काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनको वास्तविक समयको लोकेसन र आफूले पर्खिरहेको स्थानमा बस आइपुग्न लाग्ने समयबारे जानकारी दिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ।
संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरेकी हुन्।
एपमार्फत जीपीएस जडान भएका करिब १ हजार २ सय सार्वजनिक सवारीसाधनको अवस्थाबारे जानकारी लिन सकिनेछ। आगामी दिनमा जीपीएस जडान भएका थप सवारीसाधनलाई पनि प्रणालीमा समेट्दै लैजाने योजना रहेको जनाइएको छ।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउनुपर्ने बताइन्। उनले रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्नुका साथै स्कुल तथा कलेज जाने विद्यार्थीलाई लक्षित गर्दै बिहानैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन्।
उनले सार्वजनिक यातायात कुनै एक स्थानीय तहको मात्र विषय नभएको भन्दै पालिकाहरूबीच समन्वय र वित्तीय साझेदारी आवश्यक रहेको बताइन्।
परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस चढ्दा सहजताको अनुभूति गर्ने प्रणाली विकास गर्नुपर्ने बताए। सार्वजनिक यातायात सुधारका लागि परिषद्ले प्रभावकारी भूमिका खेल्न सक्ने उनको भनाइ थियो।
बैठकले यस आर्थिक वर्षमा बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनका लागि सर्त र सम्झौताको मोडल तयार गर्ने तथा नगरपालिकासँग सहकार्य अघि बढाउने निर्णय गरेको छ।
त्यस्तै, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप तथा बसपार्कमा जीपीएस ट्याकिङमा आधारित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने र नगदरहित भाडादर लागू गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रम पनि स्वीकृत भएका छन्।
यात्रुले टिकट लिने संस्कारलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गर्नुका साथै सार्वजनिक यातायातसम्बन्धी अध्ययन तथा अनुसन्धानका कार्यक्रम अघि बढाउने निर्णयसमेत भएको छ।
परिषद्को बैठकमा नगरपालिका–नगरपालिकाबीच सहकार्य, सम्पदा तथा पर्यटकीय क्षेत्रलाई लक्षित सार्वजनिक यातायात सञ्चालनलगायत विषयमा समेत छलफल भएको थियो।
‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९’ अनुसार संघीय राजधानी क्षेत्रको सार्वजनिक यातायात सेवा नियमन तथा व्यवस्थापन गर्न संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिएको हो। प्राधिकरणको कामकारबाही सञ्चालन, रेखदेख तथा व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुखको अध्यक्षतामा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ।
प्राधिकरणले सूचना प्रविधिमा आधारित नगदविहीन एकीकृत यातायात प्रणाली, वास्तविक समयको सूचना प्रणाली, वातावरणमैत्री तथा यात्रुमैत्री सार्वजनिक यातायातको व्यवस्थापन, बस बिसौनी निर्माण, रुट निर्धारण तथा सार्वजनिक यातायातसम्बन्धी विवरणको संकलन र अद्यावधिकलगायत काम गर्ने कानुनी व्यवस्था छ।