मकवानपुरमा खोलाले बगाएका बालिकामध्ये थप एकको शव फेला
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान बिनिता भ्लोनको शव फेला परेको हो। मंगलबार विद्यालयबाट घर फर्किने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो।
घटनामा राक्सिराङ–१ की रेश्मा स्याङ्तानको शव मंगलबार नै फेला परेको थियो भने सीमा भ्लोनलाई घाइते अवस्थामा उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन भने अझै बेपत्ता छिन्। उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन्।