बजेट पेस गर्न नसकेका मधेसका चार नगरपालिकामा स्थलगत सहजीकरण
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको बजेट नगरसभामा पेस गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकामा स्थलगत सहजीकरण गर्ने भएको छ।
मन्त्रालयका अनुसार सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका प्रतिनिधिसहितको संयुक्त टोली सम्बन्धित स्थानीय तहमा जानेछ।
टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिकामा पुगेर जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग छलफल गर्नेछ।
बजेट निर्माण तथा नगरसभा सञ्चालनमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण र समन्वय गर्ने मन्त्रालयले जनाएको छ। बजेट प्रक्रिया लामो समय अवरुद्ध हुँदा सेवा प्रवाह र विकास निर्माण प्रभावित हुन सक्ने भएकाले स्थलगत रूपमा समस्या समाधानको पहल गर्न लागिएको हो।