इलामको रिखुवा खोलामा ३० करोड लागतको पक्की पुल निर्माण सम्पन्न
इलाम — इलामको माई नगरपालिका–६ स्थित रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। माई नगरपालिका हुँदै माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बा जोड्ने आत्मानन्द मार्गअन्तर्गत निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएको छ।
सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानको ३० करोड ६४ लाख ८४ हजार रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिए। ३३ करोड ९८ लाख २२ हजार ५८९ रुपैयाँमा ठेक्का आह्वान गरिएकोमा शान्ति निर्माण सेवाले ३० करोड ६४ लाख ८४ हजार रुपैयाँमा सम्झौता गरी निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको हो।
सम्झौताअनुसार पुल निर्माण २०८३ असार ३० गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले समयअघि नै काम सकेको आयोजना प्रमुख मगरले बताए। २०० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल निर्माण सम्पन्न भएपछि स्थानीयको आवतजावत सहज र सुरक्षित बनेको छ।
यसअघि वर्षायाममा रिखुवा खोलामा बाढी आउँदा यातायात अवरुद्ध हुने गरेको थियो। विशेषगरी बिरामी, गर्भवती र विद्यार्थीलाई आवतजावतमा समस्या हुँदै आएको स्थानीयले बताएका छन्। पुल सञ्चालनमा आएपछि माई नगरपालिका र माङसेबुङ गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।
माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूका अनुसार पुल निर्माणपछि माङसेबुङका बासिन्दालाई झापाको विर्तामोड तथा धार्मिकस्थल लारुम्बासम्म पुग्नसमेत सहज भएको छ।