बेनी नगरपालिकाले किसानलाई २५ लाखभन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण
म्याग्दी — बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई २५ लाख रुपैयाँभन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ।
नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रममार्फत ११६ जना किसानलाई कुल २५ लाख ६९ हजार ९८३ रुपैयाँ अनुदान दिइएको हो। अनुदान पाउनेमा ५९ जना तरकारी उत्पादक किसान, ३८ जना बाख्रापालक र २८ जना गाईभैँसीपालक किसान रहेका छन्।
नगरपालिकाका अनुसार तरकारीखेती गर्ने किसानलाई १३ लाख ४९ हजार ९८३ रुपैयाँ तथा पशुपालक किसानलाई १२ लाख २० हजार रुपैयाँ वितरण गरिएको छ। तरकारीतर्फ काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, मूला, गाजर, प्याज र लसुन उत्पादन गर्ने किसानलाई उत्पादन र बिक्रीका आधारमा अनुदान उपलब्ध गराइएको हो।
पशु सेवा शाखामा परेका ६६ आवेदनमध्ये स्थलगत अनुगमनपछि ५७ वटा व्यावसायिक फार्म छनोट गरिएको थियो। किसानलाई न्यूनतम १३ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँसम्म अनुदान दिइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि गाईभैँसी र बाख्रापालक किसानलाई दिँदै आएको उक्त कार्यक्रम यस वर्षदेखि तरकारी उत्पादक किसानसम्म विस्तार गरेको हो। उत्पादन बढाउने र किसानलाई व्यावसायिक बनाउने उद्देश्यले कार्यक्रम प्रभावकारी देखिएको नगर प्रमुख सुरत केसीले बताए।
नगरपालिकाले किसानलाई लघु, साना, मझौला र व्यावसायिक उद्यमी गरी चार वर्गमा विभाजन गरी वर्गअनुसार १५ हजारदेखि ४५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरेको छ। कृषि क्षेत्रको प्रवर्द्धनका लागि बेनी–४ सिंगामा चिस्यान गृह सञ्चालन गरिएको छ भने वडा नम्बर–८ कालीपुलमा कृषि बजार सञ्चालनको तयारी भइरहेको छ।