उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर सडकमा वर्षभर सहज आवागमन
सङ्घीय सरकारको ११ करोड १९ लाख रुपैयाँको लगानीमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुर क्षेत्रमा पहिरो नियन्त्रणका संरचना निर्माण भएपछि बर्खायाममा समेत सवारी आवागमन सहज र सुरक्षित भएको छ। सडक योजनाअनुसार मर्स्याङ्दी नदी किनारमा संरक्षण पर्खाल, माइक्रो पाइल, ४५ मिटर अग्लो र ८० मिटर लामो ग्याबिन जाली, ३०० मिटर सडक कालोपत्र तथा पहिरो प्रभावित क्षेत्रमा नेलिङलगायतका संरचना निर्माण गरिएको छ।
स्थानीयवासी र चालकहरूले पहिरो नियन्त्रणपछि यात्रा निकै सुरक्षित बनेको बताएका छन्। यसअघि बर्खाको समयमा माथिबाट ढुङ्गा खस्ने जोखिमका कारण सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था थियो। अहिले भने नियमित रूपमा निर्बाध सवारी सञ्चालन भइरहेको उनीहरूको भनाइ छ।
डुम्रे–बेँसीसहर सडक लमजुङ र मनाङलाई जोड्ने प्रमुख राजमार्ग हो। यही सडकबाट अन्नपूर्ण चक्रीय पदमार्गमा पुग्ने मुख्य पहुँचसमेत भएकाले पहिरो नियन्त्रणले स्थानीय बासिन्दा, पर्यटक तथा यातायात सेवामा उल्लेखनीय सहजता ल्याएको छ।