प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको कांग्रेस सांसद गुरुङको आरोप
काठमाडौं — नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन माग गरेकी छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले प्रधानमन्त्री निरन्तर संसद्मा अनुपस्थित हुने र उठेका प्रश्नबाट पन्छिने गरेको आरोप लगाइन्। उनले सभामुख डोलप्रसाद अर्यालमार्फत प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई जवाफ दिन रुलिङ गर्न माग गरिन्।
प्रधानमन्त्रीले संसद्मा आएर सम्बोधन गर्दै जनतामा विश्वास जगाउनुपर्ने उनको भनाइ थियो। पछिल्ला घटनाक्रमले नागरिकमा निराशा बढ्दै गएको भन्दै उनले सरकारले मूल समस्या समाधान गर्नुको सट्टा विषयान्तर गर्ने प्रयास गरेको आरोप लगाइन्।
सांसद गुरुङले कीर्तिपुरमा सुकुम्वासी बस्ती डुबानमा परेको घटना र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको बताइन्। सरकारको निर्णय र कार्यशैलीका कारण हालसम्म नौ जना सुकुम्वासीले ज्यान गुमाएको दाबी गर्दै उनले यसलाई राज्य संयन्त्रको गम्भीर असफलताको संज्ञा दिइन्।
उनले मुगुका गणेश नेपालीसहित केही नागरिकले आत्मदाहजस्तो कठोर निर्णय लिनु राज्यप्रतिको बढ्दो निराशाको संकेत भएको बताइन्। आत्मदाहका घटनाले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाएको उनको भनाइ थियो।
सांसद गुरुङले महँगी वृद्धि, नागरिकमा बढ्दो निराशा र सरकारको कार्यशैलीले मुलुकलाई गलत दिशातर्फ लैजाने खतरा रहेको टिप्पणी गरिन्। सरकारको आलोचना गर्ने युवामाथि दबाब सिर्जना गरिएको र पत्रकारलाई समेत त्रसित बनाउने काम भएको आरोप पनि उनले लगाइन्।
उनले युवाको नेतृत्वमा रहेको सरकारले करुणा र जवाफदेहिताभन्दा अहंकार देखाएको आरोप लगाउँदै नागरिक समाज र युवाले उठाएका प्रश्नको जवाफ दिन सरकार तयार हुनुपर्ने बताइन्।
सांसद गुरुङले सरकार र संसद् ‘बर्थडे पार्टी’ नभएको टिप्पणी गर्दै लोकतान्त्रिक व्यवस्था, कानुनको शासन र संसदीय उत्तरदायित्वप्रति सरकारको प्रतिबद्धतामाथि प्रश्न उठेको बताइन्। विधि, प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भए कांग्रेसले खबरदारी जारी राख्ने चेतावनीसमेत दिइन्।