नेपाल–जापानबीच शिक्षा सहकार्य विस्तारबारे छलफल
काठमाडौं, असार ३२ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच शिक्षा क्षेत्रको सहकार्य विस्तार तथा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल–जापानबीचको मैत्रीपूर्ण सम्बन्ध, साझा हित तथा शिक्षा क्षेत्रमा सम्भावित सहकार्यका विषयमा विचार–विमर्श भएको हो।
भेटका क्रममा मन्त्री पोखरेलले सार्वजनिक शिक्षा सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कन, शिक्षक तालिम, सुरक्षित विद्यालय, डिजिटल तथा स्मार्ट लर्निङ, विद्यालय स्वास्थ्य र पोषणलगायत क्षेत्रमा जापानसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए। उनले जापानको विद्यालय शिक्षा प्रणालीबाट अनुशासन, संस्कार र मूल्य–मान्यतासम्बन्धी अभ्यास नेपालले पनि अवलम्बन गर्न सकिने धारणा राखे।
जापानी राजदूत तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे। उनले शिक्षा सुधारका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सुशासन, सक्षम कर्मचारीतन्त्र तथा शिक्षकको पेसागत विकास अपरिहार्य रहेको बताए।
राजदूत तोरुले सूचना प्रविधि, डिजिटल पूर्वाधार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा समेत नेपाल–जापानबीच सहकार्य विस्तार गर्न पर्याप्त सम्भावना रहेको उल्लेख गरे।