काठमाडौं उपत्यकामा एकै दिन २,१७६ सवारीचालक कारबाहीमा, १० लाख ६२ हजार रुपैयाँ राजस्व असुल
काठमाडौं, २२ असार — काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २,१७६ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये ८१ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, १०१ जना नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने, १५९ जना ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने तथा २०२ जना तीव्र गतिमा सवारी चलाउने रहेका छन्।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने ९२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११० जना, सडक तथा फुटपाथमा अवैध पार्किङ गर्ने ११० जना, एकतर्फी सडकमा सवारी चलाउने ६६ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १,०५५ जना पनि कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले उक्त कारबाहीबाट कुल १० लाख ६२ हजार रुपैयाँ राजस्व असुल गरेको जनाएको छ। कार्यालयले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नियम उल्लङ्घन गर्नेविरुद्ध नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।