बाल अधिकार परिषद्मा मन्त्रीको छड्के अनुगमन, ९ बुँदे निर्देशन जारी
काठमाडौं — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गर्दै ९ बुँदे निर्देशन दिएकी छन्।
बिहीबार बिहान मन्त्रालय र सचिवालयको टोलीसहित मन्त्री बादी पुल्चोकस्थित परिषद्को कार्यालय पुगेकी थिइन्। पूर्वसूचना बिना गरिएको अनुगमनपछि परिषद्का कर्मचारी आश्चर्यमा परेका थिए।
अनुगमनका क्रममा मन्त्री बादीले बाल संरक्षण, बाल अधिकार प्रवर्द्धन तथा संस्थागत सुधारका विषयमा असन्तुष्टि जनाउँदै तत्काल सुधारका लागि निर्देशन दिएकी हुन्। उनले बालगृहको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ बालगृह खोल्ने अनुमति अर्को निर्णय नभएसम्म नदिन निर्देशन दिइन्।
त्यसैगरी मन्त्री बादीले परिषद्का कर्मचारीहरूको कार्यविवरण, सम्झौता र हालसम्म सम्पन्न कार्यहरूको विवरण ७ दिनभित्र पेश गर्न निर्देशन दिएकी छन्। साथै बाल संरक्षणका लागि प्राप्त द्विपक्षीय तथा बहुपक्षीय सहायता र सञ्चालन भएका कार्यक्रमहरूको पूर्ण विवरण ५ दिनभित्र बुझाउन पनि निर्देशन दिइएको छ।
परिषद् तथा मातहतका उपसमितिका बैठकका माइन्युट ३ दिनभित्र पेश गर्न, जोखिममा रहेका बालगृहहरूको तत्काल अनुगमन गरी सुधार योजना तयार गर्न, र चालु आर्थिक वर्षमा प्राप्त निवेदन तथा उजुरीको अवस्था ५ दिनभित्र पेश गर्न समेत निर्देशन दिइएको छ।
राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार स्थापना गरिएको निकाय हो।