कालीकोटमा लामखुट्टेबाट सर्ने रोगका बिरामी बढ्न थाले
हिमाली जिल्ला कालीकोटमा पनि लामखुट्टेको टोकाइबाट सर्ने रोगका बिरामी भेटिन थालेका छन्। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा डेङ्गी, कालाजार र औलोका गरी १९ जना बिरामी फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार डेङ्गीका १०, कालाजारका आठ र औलोका एक जना बिरामी भेटिएका छन्। जिल्लाका नौ पालिकामध्ये छवटा पालिकामा यी रोगका बिरामी देखिएका छन्।
जलवायु परिवर्तनका कारण तापक्रम बढ्नु, यातायात तथा आवतजावत बढ्नु, बजार विस्तार र अव्यवस्थित बस्तीका कारण लामखुट्टे फैलिन अनुकूल वातावरण बनेको स्वास्थ्यकर्मीको भनाइ छ। रोग फैलिन नदिन प्रभावित क्षेत्रमा लामखुट्टेको लार्भा खोज्ने, नष्ट गर्ने र जनचेतना अभियान सञ्चालन भइरहेको छ।