स्वास्थ्य सहकार्य विस्तारबारे मन्त्री मेहता र नर्वेली राजदूतबीच छलफल
काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–नर्वेबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा हुँदै आएको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
सो अवसरमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा तथा अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा नर्वे सरकारले गर्दै आएको सहयोगको मन्त्री मेहताले प्रशंसा गरिन्।
मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई ध्यानमा राख्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने तथा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, स्वास्थ्य पर्यटन र जडीबुटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताइन्। उनले ती क्षेत्रमा थप सहकार्यका लागि अपेक्षा व्यक्त गरिन्।
भेटमा राजदूत म्योसले नेपाल सरकारका प्राथमिकताअनुसार स्वास्थ्यलगायतका क्षेत्रमा नर्वे सरकारको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।