जरिवाना नतिर्ने २ लाख ६१ हजारभन्दा बढी चालकको सेवा रोकिँदै
काठमाडौं — ट्राफिक नियम उल्लङ्घन गरेबापतको जरिवाना राज्य कोषमा दाखिला नगर्ने २ लाख ६१ हजारभन्दा बढी सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवा रोक्का गरिने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो समयदेखि जरिवाना नतिरेका चालकहरूको विवरण यातायात कार्यालयमा पठाई सेवा रोक्का गर्ने प्रक्रिया अघि बढाइएको हो।
जरिवाना नतिरेसम्म ती चालकले नयाँ सवारीसाधन खरिद, सवारीसाधन नामसारी, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा यातायात कार्यालयबाट उपलब्ध हुने अन्य सेवा लिन पाउने छैनन्।
ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार जरिवानाबापतको रकम पूर्ण रूपमा बुझाएपछि मात्रै रोक्का गरिएका सेवा पुनः सञ्चालन हुनेछन्।
यातायात व्यवस्था कार्यालयले अब कुनै पनि नयाँ सेवा लिनुअघि सम्बन्धित चालकले ट्राफिक जरिवाना राज्य कोषमा दाखिला गरेको प्रमाण अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेको छ।
जरिवाना तिर्न बाँकी रहेका चालकलाई मोबाइल सन्देश (एसएमएस) मार्फत जानकारी गराउने कामसमेत सुरु गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार यो व्यवस्था जरिवाना असुलीलाई प्रभावकारी बनाउनुका साथै ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास र सडक अनुशासन कायम गर्न लागू गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबै चालकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।