ग्रामीण स्वास्थ्य सेवा र शान्ति सुरक्षाबारे सांसदहरूको सरकारको ध्यानाकर्षण
काठमाडौं — प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार र शान्ति सुरक्षा सुदृढ गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसदहरूले आ–आफ्नो क्षेत्रका समस्या उठाउँदै नागरिकको सुरक्षा र स्वास्थ्य सेवामा प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नितिमा भण्डारीले सर्लाहीको लालबन्दी नगरपालिका–९ बाट वडा नं ७ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि बुधबार राति भएको आक्रमणको विषय उठाइन्। तीन जनाको समूहले लुटपाट गर्ने उद्देश्यले चार राउण्ड गोली चलाएको जानकारी दिँदै उनले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृह प्रशासनको ध्यानाकर्षण गराइन्।
नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलमले रौतहटको राजपुर नगरपालिकास्थित हुलाकी राजमार्गको पुलमुनि फेला परेको महिलाको शव घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे।
रास्वपाका शिवशङ्कर यादवले सिरहामा सुविधासम्पन्न बर्थिङ सेन्टरको अभावका कारण मातृ तथा शिशु मृत्युदर बढिरहेको उल्लेख गर्दै धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ अस्पतालमा रहेको बर्थिङ सेन्टर तत्काल सञ्चालन गर्न माग गरे।
नेपाली कम्युनिष्ट पार्टीका रमेश मल्लले सल्यान अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण स्वास्थ्य सेवा प्रभावित भएको बताए। उनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको भन्दै नागरिकलाई सहज विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी नीति कार्यान्वयन गर्न आग्रह गरे।
त्यस्तै, कांग्रेसका प्रकाशसिंह कार्कीले सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमामा निर्माणाधीन जलविद्युत् आयोजनाले सम्झौताअनुसार सामाजिक उत्तरदायित्व पूरा नगरेको विषय उठाएका थिए।