तीन वरिष्ठ सर्वोच्च न्यायाधीशमाथि महाभियोगको चर्चा, न्याय क्षेत्रमा चासो
काठमाडौं — सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा छलफल सुरु भएको चर्चा चलेको छ। न्याय परिषद् स्रोतका अनुसार वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयालमाथि महाभियोगको सम्भावनाबारे छलफल भइरहेको बताइएको छ।
सरकार पक्षबाट महाभियोगको विषय उठाइएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उनी निकट व्यक्तिहरूले यसबारे औपचारिक धारणा सार्वजनिक नगरेको बताइएको छ।
स्रोतका अनुसार प्रधानन्यायाधीश नियुक्तिको विषयमा सपना प्रधान मल्ललाई पछि पारिएको भए पनि रास्वपाको समर्थनबिना महाभियोग प्रक्रिया अघि बढाउन कठिन हुने देखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघि सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा कायममुकायम प्रधानन्यायाधीशसमेत रहेकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ललाई अघि बढाएको थिएन। प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि वरिष्ठ न्यायाधीशहरूमाथि सरकारको दृष्टिकोणबारे न्याय क्षेत्रमा चासो बढेको हो।
यसैबीच, वरिष्ठता क्रममा रहेका न्यायाधीशहरूलाई पछि पारेर इजलास गठन गर्नुपर्दा प्रधानन्यायाधीशसमेत असहज अवस्थामा रहेको र समाधानका लागि सरकारसँग छलफल भइरहेको स्रोतको दाबी छ।
महाभियोगको विषयमा भने सरकार वा सम्बन्धित दलहरूले औपचारिक रूपमा कुनै निर्णय सार्वजनिक गरेका छैनन्।