प्रतिनिधिसभाको बैठक सुरु, विभिन्न प्रतिवेदन र विधेयक प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार मन्त्री गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन, २०८१/०८२’ प्रतिनिधिसभामा पेस गर्नेछिन्।
त्यसैगरी, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत मन्त्री गौतमले प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।