कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाइने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत भैरहवादेखि कोरलासम्मको सडकलाई स्तरोन्नति गरी पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा आयोजित पर्यटन विकाससम्बन्धी छलफल कार्यक्रममा मन्त्री पौडेलले पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै कोरला राजमार्गलाई प्राथमिकताका साथ अघि बढाइने बताए।
उनले मुस्ताङ–डोल्पा सडक निर्माणलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए।
मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या न्यूनीकरण गर्न ‘पर्यटक समय कार्ड’ लागू गर्ने विषयमा सम्बन्धित निकायलाई आवश्यक पहल गर्न पनि मन्त्री पौडेलले सुझाव दिएका छन्।
कार्यक्रममा पर्यटन व्यवसायी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले मुस्ताङको पर्यटन विकास, पूर्वाधार विस्तार र देखिएका चुनौतीबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए।