१०० दिनमा २६ लाख लाइसेन्स छपाइ, सेवा सुधारमा ठूलो प्रगति
सरकार गठनपछि पछिल्ला १०० दिनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ र वितरणमा उल्लेखनीय प्रगति भएको बताइएको छ।
यस अवधिमा २६ लाखभन्दा बढी लाइसेन्स छापेर सम्बन्धित यातायात कार्यालयमार्फत वितरण प्रक्रिया अघि बढाइएको छ। सेवाग्राहीहरूले लामो समयदेखि भोग्दै आएको लाइसेन्स अभावको समस्या क्रमशः समाधान हुँदै गएको जनाइएको छ।
लाइसेन्स छपाइको मुख्य जिम्मेवारी काभ्रेपलाञ्चोकको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रले लिएको छ। लामो समयदेखि बन्दजस्तै अवस्थामा रहेका उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएपछि छपाइ कार्य तीव्र बनेको बताइएको छ।
केन्द्रका अनुसार पुराना मेसिनलाई मर्मत गरी चौबीसै घण्टा तीन सिफ्टमा सञ्चालन गरेपछि दैनिक छपाइ क्षमता उल्लेख्य रूपमा बढेको हो।
यस क्रममा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीचको समन्वय, बजेट व्यवस्थापन तथा प्राविधिक सुधारले उत्पादन वृद्धि सम्भव भएको जनाइएको छ।
सरकारले यसलाई सार्वजनिक सेवा सुधार र डिजिटल पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।