२४ घण्टामा विपद्का घटनामा ७ जनाको मृत्यु, २५ घाइते
पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्जन्य घटनामा परी ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा बाढी, पहिरो, भारी वर्षा, सर्पदंश, चट्याङ, वन डढेलो र जनावरको आक्रमणसहित ४७ वटा विपद्का घटना भएका छन्, जसबाट ३७ जिल्ला प्रभावित भएका छन्।
सर्पदंशबाट सबैभन्दा बढी ३ जनाको मृत्यु भएको छ। यस्तै, बाढी, भारी वर्षा र पहिरोमा एक–एक जनाले ज्यान गुमाएका छन् भने जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएको छ।
विपद्का कारण ६ स्थानमा सडक अवरुद्ध भएको छ। प्रभावित क्षेत्रमा २६३ जना सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा राहत कार्य सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार विपद्का घटनाबाट करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।