डोल्पाको जगदुल्ला गाउँपालिकामा लेदोसहितको बाढी, एकको मृत्यु, ६ घाइते
डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति आएको लेदोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
अविरल वर्षापछि आइतबार राति करिब ३ बजे धुलाखोला र आसपासका खोल्साबाट आएको लेदोसहितको बाढी गाउँमा पसेको प्रहरीले जनाएको छ। बाढी सुतिरहेकै अवस्थामा गाउँमा प्रवेश गरेपछि स्थानीय बासिन्दा प्रभावित भएका थिए।
बाढीमा परी ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। घटनामा घाइते भएका ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्। बाढीले थप क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।