सशस्त्र प्रहरीको स्कुलमा आर्थिक हिनामिना आरोप, दुई जना पक्राउ
कीर्तिपुरस्थित सशस्त्र प्रहरीको स्कुलमा आर्थिक हिनामिना भएको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उक्त स्कुलमा कार्यरत इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
सशस्त्र प्रहरी हेडक्वार्टरले आर्थिक अनियमितता भएको भन्दै छानबिनका लागि पत्र पठाएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा स्कुलको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर करोडौँ रकम हिनामिना गरिएको आशंका गरिएको छ।
अनुसन्धानमा लेखा प्रमुख गुरुङ मुख्य योजनाकार भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। उनी विगत ६ वर्षदेखि उक्त स्कुलमा लेखा प्रमुखका रूपमा कार्यरत रहेको बताइएको छ।
यो प्रकरणमा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमाल पनि छानबिनको दायरामा रहेको प्रहरीले जनाएको छ। थप अनुसन्धान जारी रहेको छ।