ऊर्जा मन्त्रालयको १०० दिनमा उल्लेखनीय प्रगति, उत्पादन र पूर्वाधार विस्तारमा तीव्रता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा ऊर्जा उत्पादन, प्रसारण पूर्वाधार, विद्युत निर्यात, डिजिटल सेवा र सिँचाइ क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ।
मन्त्रालयका अनुसार यस अवधिमा १३८ मेगावाट विद्युत उत्पादन क्षमता थपिएर देशको कुल जडित क्षमता चार हजार २४२ मेगावाट पुगेको छ। साथै करिब ४७२.४३२ गिगावाट घण्टा विद्युत निर्यात गरिएको छ।
प्रसारण पूर्वाधारतर्फ ढल्केबर–बालगंगा, लालबन्दी–सलिमपुर र बाह्रबिसे–लप्सीफेदीजस्ता महत्वपूर्ण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न भएका छन्। नयाँ ४०० केभी तथा १३२ केभी प्रसारण लाइनहरू निर्माणका लागि बोलपत्र आह्वान गरिएको पनि मन्त्रालयले जनाएको छ।
सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन विद्युत प्राधिकरणमा कृत्रिम बुद्धिमत्ता आधारित च्याटबोट र विद्युत अवरोध जानकारी प्रणाली परीक्षणमा ल्याइएको छ। ग्राहक सेवा सुधारका लागि गुनासो समाधान समयसीमा पनि लागू गरिएको छ।
ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा सम्बन्धी कानुनको मस्यौदा तयार गरी कानुनी सुधार अघि बढाइएको छ।
हरित ऊर्जा प्रवर्द्धनअन्तर्गत ग्रीन हाइड्रोजन अध्ययन अन्तिम चरणमा पुगेको छ भने कार्बन व्यापार सम्बन्धी संरचना गठन गरिएको छ। ग्रामीण क्षेत्रमा सौर्य मिनिग्रिड, लघु जलविद्युत र सौर्य पम्पमार्फत ऊर्जा पहुँच विस्तार गरिएको छ।
सिँचाइ क्षेत्रमा २,९४८ हेक्टर जमिनमा सुविधा विस्तार गरिएको र बबई, सुनकोशी–मरिन तथा भेरी–बबई जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन तीव्र पारिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले १०० दिनमा प्राप्त १८ हजारभन्दा बढी गुनासामध्ये अधिकांश समाधान गरिएको उल्लेख गर्दै आगामी दिनमा ऊर्जा र सिँचाइ पूर्वाधारलाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाएको छ।