परराष्ट्र मन्त्रालयको १०० दिन: डिजिटल सेवा विस्तारदेखि नेपालीको उद्धारसम्म उल्लेखनीय प्रगति
परराष्ट्र मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा कूटनीतिक सेवा, डिजिटल प्रणाली, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा तथा आर्थिक कूटनीतिमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।
मन्त्रालयले विदेशमा रहेका नेपालीलाई कन्सुलर सेवा सहज बनाउन ‘मोफा मित्र’ नामक मोबाइल अनुप्रयोग सञ्चालनमा ल्याएको छ। साथै, कन्सुलर तथा कानुनी परामर्श सेवा देशभरका सबै जिल्ला र ५३७ स्थानीय तहसम्म विस्तार गरिएको जनाएको छ।
यस अवधिमा दक्षिणपूर्वी एसियामा अनलाइन ठगीमा परेका ८१९ नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ। पश्चिम एसियामा बढेको तनावका बीच आपत्कालीन संयन्त्र गठन गरी समस्यामा परेका एक हजार ४७ नेपालीलाई सुरक्षित रूपमा नेपाल ल्याइएको मन्त्रालयले जनाएको छ।
राहदानी सेवा सुधारअन्तर्गत नयाँ राहदानी प्रणाली लागू गर्ने तयारी पूरा भएको छ। जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत राहदानी वितरण विस्तार गर्ने र जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने व्यवस्था मिलाउने प्रक्रिया पनि अघि बढाइएको छ।
मन्त्रालयका अनुसार आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै वैदेशिक लगानी, व्यापार, पर्यटन प्रवर्द्धन र विकास साझेदारीका क्षेत्रमा विभिन्न मुलुकसँग सहकार्य विस्तार गरिएको छ। विभिन्न देशसँग द्विपक्षीय परामर्श बैठक सम्पन्न हुनुका साथै श्रम गन्तव्य मुलुकसँग नेपाली श्रमिकको हित संरक्षणका लागि आवश्यक पहल जारी रहेको जनाएको छ।
यसै अवधिमा संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरेको तथा जर्मनीमा रहेका नेपालका ऐतिहासिक हस्तलिखित सामग्री स्वदेश फर्काउने सम्झौता सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ।
मन्त्रालयले पहिलो पटक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमार्फत इन्टर्नसिप कार्यक्रम सुरु गरेको र राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरी करिब तीन हजार आवेदन प्राप्त भएको जनाएको छ। साथै, विदेशस्थित नेपाली नियोगमार्फत हुण्डी नियन्त्रण र वैध विप्रेषण प्रवर्द्धनका कार्यक्रमलाई पनि तीव्रता दिइएको बताइएको छ।