कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीमा अत्याधुनिक उपकरणसहित गोताखोर परिचालन
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडामा कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको खोजीका लागि अत्याधुनिक उपकरणसहित गोताखोर टोली परिचालन गरिएको छ।
असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब ६–७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनापछि घटनास्थलबाट करिब ४ सय मिटर तल एक पुरुषको शव फेला परे पनि गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात छ।
सशस्त्र प्रहरी बलले विशेषज्ञ गोताखोर टोलीलाई घटनास्थलमा परिचालन गरेको छ। हाल १० जना गोताखोरले सोनार क्यामरा, बोरोस्कोप क्यामरा तथा पानीभित्र धातु पत्ता लगाउन प्रयोग हुने विशेष चुम्बकको सहायताले खोजी कार्य सञ्चालन गरिरहेका छन्।
सशस्त्र प्रहरीका अनुसार नदीको तीव्र बहाव र गहिराइका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।