बेपत्ता कर्मचारी हटाउने प्रक्रिया सुरु, दुई कर्मचारी सेवाबाट बर्खास्त
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गरेकी छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत दुई जना कर्मचारीलाई सेवाबाट हटाएर प्रक्रिया अघि बढाइएको हो।
मन्त्री चौधरीले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै जिम्मेवारी पूरा नगर्ने र लामो समयदेखि अनुपस्थित कर्मचारीविरुद्ध कारबाही गरिएको बताएकी छन्।
कर्मचारी प्रशासन विनियमावली, २०६२ अनुसार अनुपस्थित मितिदेखि लागू हुने गरी सेवाबाट हटाउने निर्णय गरिएको जनाइएको छ।
सेवाबाट हटाइएका कर्मचारीहरूमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा सुनसरीकी प्राविधिक अधिकृत पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटारकी वैज्ञानिक नमिता भट्टराई रहेका छन्।
परिषद्ले उनीहरूलाई सम्पर्कमा आउन सूचना जारी गरे पनि तोकिएको समयमा सम्पर्क नआएपछि कार्यकारी समितिको निर्णयअनुसार कारबाही गरिएको बताइएको छ।