कङ्गोमा इबोला प्रकोप तीव्र, १,५२८ संक्रमित र ४९२ जनाको मृत्यु
‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिँदै जाँदा संक्रमितको संख्या १,५२८ पुगेको छ भने ४९२ जनाको मृत्यु भएको छ।
जनस्वास्थ्य अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना निको भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र तथा अस्पतालमा उपचाररत छन्। यसैगरी १८५ जना शङ्कास्पद बिरामीको पहिचान गरिएको छ।
प्रतिवेदनमा पछिल्ला सातामा नयाँ संक्रमितको संख्या निरन्तर बढिरहेको उल्लेख गरिएको छ। २५औँ र २६औँ सातामा प्रत्येक सातामा ३०० भन्दा बढी नयाँ संक्रमण पुष्टि भएको जनाइएको छ, जसले समुदायस्तरमा संक्रमण अझै सक्रिय रूपमा फैलिरहेको देखाएको छ।
महामारी नियन्त्रणमा नमूना संकलनमा समुदायको असहयोग, उपचार केन्द्रको सीमित क्षमता, सम्पर्कमा आएका व्यक्तिको पहिचानमा कठिनाइ, परीक्षण ढिलाइ, औषधि तथा सुरक्षा सामग्रीको अभाव प्रमुख चुनौतीका रूपमा रहेका छन्।
यसैबीच, विश्व स्वास्थ्य संगठनले इबोला उपचारको सम्भावित प्रभावकारिता मूल्यांकन गर्न ‘बुन्डिबुग्यो’ भाइरस सम्बन्धी क्लिनिकल परीक्षण सुरु गरिएको जनाएको छ।