डोल्पामा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु, १३ घाइते
डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा चालकसहित १३ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स पनि घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण संकलन तथा घाइतेहरूको पहिचान कार्य जारी रहेको छ।