महोत्तरीमा करिब ४८७ किलो गाँजासहित दुईजना पक्राउ
महोत्तरी प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा र एक ट्रकसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको सुरक्षा कारबाहीका क्रममा ४८७ किलो १०५ ग्राम गाँजा बरामद गरिएको प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।
उनका अनुसार असार २० गते राति एकडारा गाउँपालिका–१ भटौलियामा सशस्त्र प्रहरीको टोलीले ना ३ ख ६५९२ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा सुरुमा ४० किलो ३६० ग्राम गाँजा फेला पारेको थियो । ट्रकमा सवार मकवानपुरको कैलाश गाउँपालिका निवासी २१ वर्षीय विपन नेगी र २४ वर्षीय साधुराम थिङलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका व्यक्तिहरूसँगको प्रारम्भिक सोधपुछका क्रममा उक्त गाँजा धनकुटाको भेडेटारबाट ल्याइएको र महोत्तरीको रानी रत्वाडामा अन्य गाँजा झारिएको तथ्य खुलेको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गोलेकै कमाण्डमा विशेष टोली परिचालन गरिएको थियो ।
आइतबार बिहान महोत्तरी गाउँपालिका–४ स्थित सियाशरण पासवानको घरमा प्रहरीले खानतलासी गर्दा खाटमुनि साडीले छोपेर लुकाइएको अवस्थामा थप ४४६ किलो ७४५ ग्राम गाँजा फेला परेको हो।
प्रहरी टोली पुग्नुअगावै पासवानकी श्रीमती लिलम देवी घरमा ताल्चा लगाएर फरार भएकी थिइन्। घरधनी सियाशरण पासवान भने हाल रोजगारीका क्रममा कतारमा रहेका छन्।
बरामद गरिएको कुल ४८७ किलो १०५ ग्राम गाँजा र ट्रकसहित पक्राउ परेका दुवैजनालाई आवश्यक कानुनी कारबाहीका लागि महोत्तरी जिल्ला अदालतमा दाखिला गरिएको छ। प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीका साथै थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ।