सञ्चार कानुन र प्रेस स्वतन्त्रतामा राष्ट्रिय बहस आवश्यक : निर्मला शर्मा
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता रहेको बताएकी छन्।
ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक राष्ट्रिय सम्मेलनमा उनले संघीय सञ्चार कानुन, पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पत्रकारको व्यावसायिक उत्तरदायित्व सम्मेलनका प्रमुख छलफलका विषय रहेको जानकारी दिइन्।
महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले नयाँ सञ्चार कानुन निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुनै पनि रूपमा संकुचित हुन नदिने गरी कानुनी व्यवस्था गर्न सरकार संवेदनशील हुनुपर्ने बताए।
उनले पत्रकार आचारसंहिताको पालना, व्यावसायिक उत्तरदायित्व र पत्रकारिताको गुणस्तर सुधारका लागि महासङ्घले पनि आत्मसमीक्षा गर्दै स्वनियमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।